जाजरकोट, जेठ ११ : गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरूको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
केटाहरू आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरूले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँहरूले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उहाँँको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।
उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।
कुटपिटबाट घाइते एक व्यक्तिको मृत्यु
सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हँुदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताउनुभयो ।
जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हँुदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।
वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






