ग्रीसको चारै दिशामा फैलिएको डढेलोमा परी थप १८ आप्रवासीको मृत्यु भएका स्थानीयले जनाएका छन् । शव फेला परेको एक दिनपछि स्थानीयले बुधबार उक्त क्षेत्र प्रवेश गर्ने प्रमुख नाका भएकाले थप व्यक्तिको पनि मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् ।
एभ्रोस प्रान्तका बोर्डर गार्डका प्रमुख भालान्टिस जियालामसले एएफपीसँग भन्नुभयो, “डाडिया जंगलमा आगलागी सुरु भएको स्थान आप्रवासी छिर्ने स्थान हो उक्त क्षेत्रमा डढेलोका कारण उद्धार प्रयासहरू प्रभावित भएका छन् ।
उहाँले भन्नुभयो, “डढेलो लागेको समयमा आप्रवासीको चाप बढेको थियो । मेरो व्यक्तिगत आँकलन के हो भने आगो निभाउँदा र शव परीक्षण गर्दा अन्य मृत व्यक्तिहरू पनि फेला पर्न सक्छन् ।”
टर्कीको सीमा नजिकै रहेको ग्रीसको सबैभन्दा ठूलो शहर एलेक्जेन्ड्रोपोलिसको उत्तरमा रहेको एक ग्रामीण क्षेत्रमा रहेको झुपडीमा मङ्गलबार १६ जना पुरुष र दुई बालबालिका फेला परेको दमकल सेवाले जनाएको छ ।
अग्नि नियन्त्रण विभागका प्रवक्ता यिआनिस आर्टोपियोसका अनुसार अधिकारीहरूले उनीहरू आप्रवासी भएको अनुमान गरेका छन् किनभने उनीहरूले फोनमा पठाइएको आपतकालीन चेतावनीको जवाफ दिएका थिएनन् ।
अर्का एक संदिग्ध आप्रवासी सोमबार सीमा नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका छन् । ग्रीक सेनाले उक्त क्षेत्रमा गस्ती बढाएको जनाएको छ ।






