राष्ट्रपति पौडेलद्वारा मङ्गलबार बिहान सर्वदलीय बैठक आह्वान

  भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाउनुभएको प्रेस सल्लाहकार पोखरेलको भनाइ छ । सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गर्नुभएको थियो ।

संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसक्नुभएका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । यसअघि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ । 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गर्नुभएको छ । संसद बैठक सञ्चालन गर्ने विषयमा आइतबार दिउँसो मात्र प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने शीर्ष दलका नेतासँग प्रधानमन्त्री प्रचण्डलेसमेत छलफल गर्नुभएको थियो । शीर्ष नेताको अर्को बैठक सोमबार बस्नेछ ।

तपाईको प्रतिक्रिया