इजिप्ट : सिसीद्वारा जेलमा रहेका अधिकारकर्मी डोउमाको जेल सजाय माफी

  भदौ ०२, २०८०

काएरो, २ भदौ : इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०११ को विद्रोहका प्रमुख व्यक्ति तथा पछिल्लो एक दशक जेलमा बिताएका इजिप्टका अधिकारकर्मी अहमद डोउमाकोे बाँकी सजाय क्षमादान गर्नुभएको छ ।

“राष्ट्रपति अल–सिसी क्षमादान समितिका सदस्य अधिवक्ता तारेक इलावाडीले भन्नुभयो, “उहाँले आफ्नो संवैधानिक शक्तिको प्रयोग गरेर डोउमालगायत कैयौं कैदीलाई माफी दिनुभएको हो ।”

यसैबीच, प्रख्यात अधिकारकर्मी खालेद अलीले सामाजिक सञ्जालमा आफू काएरोको बाहिरी इलाकामा रहेको बदर जेलबाहिर उहाँको रिहाइका लागि पर्खिरहेको बताउनुभएको छ । सन् २०१९ मा एक अदालतले डोउमालाई दुई वर्षअघि राजधानीमा सुरक्षा बलसँग भिडन्त गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाएको थियो ।

सन् २०१९ को अन्त्यतिर इजिप्टको सर्वोच्च पुनरावेदन अदालतले १५ वर्षको सजायलाई सदर गरेको थियो, जसमा ६० लाख ‘इजिप्टियन पाउण्ड’ (त्यतिबेलाको करिब तीन लाख ७२ हजार अमेरिकी डलर) जरिवाना पनि समावेश थियो ।

सन् २०११ मा पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्यूत गर्ने क्रममा ३७ वर्षीय डोउमा आन्दोलनका प्रमुख अभियन्ता हुनुहुन्थ्यो । उहाँले सन् २०२१ मा एकान्तवासमा रहँदो ‘कर्ली’ शीर्षकको कविता संग्रह प्रकाशित गर्नुभएको छ ।

उक्त संग्रह त्यस वर्षको कायरो अन्तर्राष्ट्रिय पुस्तक मेलामा प्रदर्शित गरिएको थियो तर ‘सुरक्षाको कारण’ बजारबाट तुरुन्तै हटाइएको थियो । जेलमा छँदा आफ्नो एउटा कवितामा डोउमाले लेख्नुभएको छ, “डिप्रेसनको समय छैन, दुःखको कुनै अवसर छैन, जलप्रलय चलिरहेको छ ।”

सन् २०१३ मा मुबारकका उत्तराधिकारी मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेपछि गरिएको कारबाहीमा उहाँलाई पक्राउ गरिएको थियो । मोर्सीलाई सत्ताच्यूत गर्न नेतृत्व गरेका पूर्व सेना प्रमुख सिसीमाथि लोकतन्त्र समर्थक अभियानकर्ता र इस्लामवादी दुवैमाथि निरन्तर कारबाहीको नेतृत्व गरेको आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया