पाँच विशिष्ट व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार प्रदान

  भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : साहित्य सन्ध्याले पाँच विशिष्ट व्यक्तित्वलाई विसं २०७९ को ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरी आफ्नो चार सय ४३औँ विशेष शृङ्खला आज सम्पन्न गरेको छ ।

प्रगतिवादी साहित्यकार उमेश उपाध्यायलाई रु २१ हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो भने कवि खेमराज निरौलालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ दिइयो ।

यस्तै चिकित्सक डा वसन्त पन्तलाई रु १० हजार राशिको ‘साहित्य सन्ध्या–कृबा–कृष्णचन्द्र बालकुमारी सत्याल पुरस्कार तथा सम्मान’ र नन्दकला सुवेदीलाई रु १० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ तथा एक महिला गोमा कामीलाई रु १० हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।

नेकपा (एमाले) का केन्द्रीय संस्कृति विभागका प्रमुख एवं सांसद रघुजी पन्तले ती सम्मान प्रदान गर्नुभएको हो । नेता पन्तले अहिलेको यवापुस्ता भाषा साहित्यप्रति विमुख भइरहेको अवस्थामा यस्ता समारोहमा आफ्ना बालबालिकालाई ल्याउने, सुनाउने र उनीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने काम हामीले गम्भीरताका साथ गरेनौँ भने कालान्तरमा नेपाली भाषा साहित्यको उत्थान होइन पतन हुने सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया