गण्डकी, २ भदौ : साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५औँ कृति सफलताका कथाहरू एक समारोहका बीच आज पोखरामा लोकार्पण गरिएको छ ।
कृतिको वरिष्ठ साहित्यकार सरुभक्तले लोकार्पण गर्नुभएको हो । कृतिमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ३१ जना स्रष्टाका सफलताका कथालाई समावेश गरिएको छ ।
कृतिको लोकार्पण गर्दै साहित्यकार सरुभक्तले जीवनी लेखनमा सत्य र तथ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुुभयो । कृति लेखन, प्रकाशन, लोकार्पणलगायतका सन्दर्भ परिवेश र स्थान चयनले पनि जीवनमा सकारात्मक तथा नकरात्मक ऊर्जाका लागि प्रेरित गर्ने भएकाले त्यसमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुुभयो ।
कृतिका लेखक रवीन्द्र माकाजूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका स्रष्टाका सफलताका कथालाई कृतिमा समावेश गरेको बताउँदै जीवित स्रष्टाको जीवनी लेखन चुनौतीपूर्ण रहेता पनि यसको छुट्टै सुखानुभूति रहेको अनुुभव सुनाउनुुभयो ।
शिक्षासेवी प्रा डा रामचन्द्र पोखरेल, नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयकी ब्रह्मकुमारी परिणितालगायतले माकाजूको साहित्यिक एवं सामाजिक व्यक्तित्वबारे चर्चा गर्नुुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव असफल गौतमले गर्नुुभएको थियो ।