ब्रसेल्स, १ भदौ : युरोपेली सङ्घका प्रमुख चाल्र्स मिसेलले नाइजरको सैन्य समूहबाट नजरबन्दमा राखेका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमको स्वास्थ्यमा कुनै समस्या आएमा यसको परिणाम नराम्रो हुने चेतावनी दिनुभएको छ ।
मिसेलले नाइजरको ‘कू’को विरोध गर्ने पश्चिम अफ्रिकी राज्यहको आर्थिक समुदाय (इकोवास) समूहका अध्यक्ष तथा नाइजेरियाका राष्ट्रपति बोला टिनुबुलाई सम्बोधन गर्दै भन्नुभयोे, “हिरासतमा राष्ट्रपति बाजुमको अवस्था बिग्रँदै गएको आफुले सूचना पाएको र यसको परिणाम नराम्रो हुनेछ ।”
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएयता नाइजरमा भएको पाँचौं ‘कू’ मा ६३ वर्षीय बाजुमलाई राष्ट्रपतिको सुरक्षा गार्डका सदस्यले जुलाई २६ मा कब्जामा लिएका थिए । अहिले उहाँ र उहाँको परिवारलाई राष्ट्रपति भवनमा हिरासतमा राखिएको छ ।
उहाँले भन्नुभयो, “नाइजेरियाका राष्ट्रपतिले नाइजर नेता बाजुमलाई रिहा गर्न इकोवासको दृढसङ्कल्प र राजनीतिक इच्छाशक्ति रहेको बताउनुभयो । यस क्षेत्रका केही देशहरूमा आर्थिक प्रभाव पार्ने भए तापनि इकोवासले प्रतिबन्धहरू कायम राख्नेछ ।”
मिसेलले इकोवासको निर्णयलाई ईयूको पूर्ण समर्थन दोहो-याउनुका साथै नाइजरमा भएको अस्वीकार्य ‘कू’ को कडा निन्दा गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “इयूले नाइजरमा भएको आक्रमणका कारण जिम्मेवारीमा आएका नाइजर अधिकारीहरूलाई मान्यता दिने छैन । प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपति बाजुम नाइजरको वैधानिक राष्ट्रप्रमुख हुनुहुन्छ ।”






