काठमाडौँ, २८ साउन : म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । शुक्रबारदेखि परेको भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर हजारौ सर्वसाधारण विस्थापित भएका हुन् ।
सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुईजना गरी पाँच जनाको मृत्यु भएको बताउनु भयो ।
मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रय स्थल स्थापना गरेको छ । अधिकांश आश्रय स्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उहाँको भनाइ छ ।
राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण २ हजार १४६ घरपरिवारबाट १० हजार भन्दा बढी मानिसहरूलाई आश्रय स्थलमा पुर्याएको बताइएको छ । साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरूको सम्बन्ध विच्छेद भएको बताइएको छ ।
लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा २ हजार ९७३ घरपरिवारका १२ हजार ४ सय ६१ जना आश्रय स्थलमा सर्न बाध्य भएका छन् । मौसम विज्ञान तथा जल विज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो ।
म्यानमारको मौसम एजेन्सीले शुक्रवार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको सिन्ह्वाले जनाएको छ ।






