प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता : आपसी सम्बन्ध सुदृढ बनाउन सहमत

  साउन २०, २०८०

काठमाडौं, २० साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । दुवै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो ।

वार्तामा नेपाल-भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीहरुको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभयो । 

भारतीय प्रधानमन्त्री कार्यालयले पनि सोही विषयमा विज्ञप्ति जारी गर्दै उहाँहरूबीच भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्दै दुई देशबीचको गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउनेबारे छलफल भएको जनाएको छ ।

“निकट र मित्रवत् छिमेकी मुलुक नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार राष्ट्र हो । टेलिफोन वार्ता दुई देशबीचको उच्चस्तरीय आदानप्रदान परम्पराको निरन्तरता हो”, भारतीय प्रधानमन्त्री कार्यालयकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया