प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मतले अनुमोदन

  साउन १८, २०८०

काठमाडौं, १८ साउन : सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरूको नाम समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदूतमा सुधीर भट्टराई, कुवेतका लागि आवासीय राजदूतमा घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो ।

सभापति कार्कीले प्रस्तावित ६ जना राजदूतको सम्बन्धमा पाँचवटा उजुरी प्राप्त भएको र तीमध्ये तीनवटा सैद्धान्तिक प्रकृतिका र दुईवटा उजुरी व्यक्ति केन्द्रित रहेको बताउनुभयो । ‘समितिले प्रस्तावित राजदूतहरूको नियुक्तिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्य सञ्चालन नियमावली बमोजिम अनुमोदन गरेको छ,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया