रामेछापको अधिकांश झोलुङ्गे पुल जीर्ण

  साउन १७, २०८०

मन्थली, १७ साउन : पैदल यात्रालाई छोट्याउने साधनका रुपमा रहेका रामेछापका अधिकांश झोलुङ्गेपुल जीर्ण बन्दै गएका छन् । पुलका सामग्री नासिन र चोरिन लाग्दासमेत सम्बन्धित निकायलाई चासो छैन ।

आधुनिकतासँगै सडक र मोटर पुल निर्माणपछि सरकारले लाखौँ रुपैयाँ खर्चेर निर्माण गरेका यस्ता पुलको पछिल्लो समय प्रयोग पनि घट्दै गएको छ । विभिन्न नदीका प्रमुख घाट एवम् तत्कालीन अवस्थामा अत्यावश्यक भएका ठाउँमा निर्माण गरिएका झोलुङ्गेपुलको प्रयोग घटेसँगै तिनीहरुको संरक्षण र मर्मतसम्भारप्रति स्थानीय तह उदासीन भएका जनाइएको छ ।

दोलखा र रामेछापलाई जोड्नेमात्र नभई सगरमाथा आधार शिविर जाने पर्यटकलाई सुविधा पु¥याएको उत्तरी रामेछापको शिवालयस्थित झोलुङ्गेपुल हाल जीर्ण अवस्थामा छ । नजिकै अर्को मोटरेबल पुल निर्माणपछि उक्त पुलबाट आउजाउ गर्नेको सङ्ख्या घट्दो छ । तर स्थानीयवासीलाई भने यही पुलले गाउँघर र मेलापात जानआउन सहज बनाएको छ ।

शिवालयमा भएका पुलका पार्टपुर्जा खुस्किएका छन् । वर्षौंदेखि रङ्गरोगन नगर्दा पुलमा प्रयोग भएको फलाममा खिया लागेको छ । विसं २०४१ मा उक्त पुलको निर्माणपश्चात् त्यसैसँग जोडिएर शिवालय बजार विस्तार भएको थियो । पर्यटक नहुँदा बजारमा पनि चहलपहल घटेको छ ।

यतिमात्र हैन पुलभन्दा माथिका डाँडाहरुमा सडक खनेर पुलको जगमा ढुङ्गामाटो फालिदिने गरेका कारण पनि पुलहरु जीर्ण बन्दै गएका हुन् ।

रामेछापमा शिवालयमात्र हैन, पहिले निकै महत्व बोकेका जिल्लाका अधिकांश झोलुङ्गेपुलहरु जीर्ण बनिरहेका छन् । पूर्वी जिल्ला भोजपुरदेखि काठमाडौँ आउजाउमा प्रयोग हुने मन्थली घाटमा २०३५ सालमा बनेको तामाकोशी नदीको पुल, रामेछापबाट सिन्धुलीको झाङ्गाझोली रातमाटा हँुदै भकुण्डे–बनेपा–काठमाडाँैसमेत आउनेजाने गरिएको २०४१ सालमा (पुछिघाट, चैनपुरमा) बनेको सुनकोशी नदीको पुल भिरपानीको सित्खाघाटमा बनेको पुल र राणाकालमा निर्माण भएको रामेछाप र ओखलढुङ्गा जोड्ने लिखु खोलामा रहेको साँघुटारको पुलसमेत जीर्ण अवस्थामा छन् ।

यसबाहेक रामेछाप –सिन्धुली जोड्ने सुनकोशी नदीमा २०२८ सालमा निर्माण भएको धनेघाटको पुल, विसं २०२५ मा निर्माण भएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटकोपुल २०३६ सालमा निर्माण भएको काभ्रे र रामेछाप जिल्ला जोड्ने लुभुघाटमा बनेको सुनकोशी नदीको पुल, तामाकोशी नदीमा रामेछापको आन्तरिक गाउँ जोड्ने २०२७ सालमा बनेको बान्द्रेको पुल र २०२५ सालमा निर्मित अम्बासबेँसी खिम्ती जोड्ने तामाकोशी नदीको लगायतका जिल्लाका अधिकांश पुलहरु जीर्ण रहेका छन् ।

रामेछाप नगरपालिकाका प्राविधिक हरिचन्द्र बरालका अनुसार टावरवाला पुल निर्माण गर्नप्रति मिटर ८० हजार रुपैयाँ लाग्छ । उक्त सबै पुलहरू करिब दुई सय मिटर हाराहारीका हुन् । हालको मूल्यमा एउटा पुल निर्माण गर्न कम्तीमा एक करोड ५० लाखभन्दा बढी खर्च लाग्ने गर्दछ । (रासस)

तपाईको प्रतिक्रिया