इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो

  साउन १६, २०८०

काठमाडौँ, १६ साउन : इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको छ ।

पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो, फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा ‘फेक एकाउन्ट’ बनाइ ती सामग्री पोर्न साइटमा अपलोड गरी चरित्रहत्या गरेकोसम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएका विकलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेशियासँग समन्वयमा सोमबार नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी प्रकाश विकलाई सोमबार मलेशियाबाट नेपाल ल्याएर आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटीमा बुझाइ आवश्यक कारबाही सुरु भएको छ ।” निज विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भए बमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा विसं २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

करेन्ट लागेर वृद्धाको मृत्यु
कीर्तिपुर नगरपालिका–१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दीलकुमारी महर्जनको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उहाँको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया