नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ : डा कोइराला

  साउन १३, २०८०

मोरङ, १३ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको बताउनुभएको छ ।

नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित साधारणसभामा उहाँले स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गर्नुभयो । संरक्षकसमेत रहनुभएका डा कोइरालाले प्रतिष्ठान सेवामुलक संस्था भएकाले मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हकहित स्थापनामा स्व कोइरालाको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष डा नारायण कुमार, उपाध्यक्ष हसन अन्सारी, गोपालमान सिंह राजभण्डारी, पूर्वप्रदेशसभा सदस्य शान्ता पौडेल, निर्मला कोइराला, नीरञ्जन रिजालले स्व कोइरालाले देखाएको बाटो अनुसरण गरेमा गरिब एवं सीमान्तकृत नागरिक शिक्षा एवं स्वास्थ्य सेवा वञ्चिन नहुने विचार राख्नुभयो ।

तपाईको प्रतिक्रिया