हवाई सुरक्षाका लागि टास्कफोर्स गठन

  साउन १३, २०८०

काठमाडौँ, १३ साउन : पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ ।

हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।

सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मुलुकभर सञ्चालनमा रहेका एयरक्राफ्ट सञ्चालन विधि, प्रक्रिया र हवाई उद्योगबारे सुरक्षाबारे समितिले अध्ययन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घमा आबद्ध वायुसेवा कम्पनीको सञ्चालन प्रक्रिया र विधिबारे पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिले एक महिनासम्म अध्ययन गर्ने छ । समितिले अध्ययनका क्रममा देखिएका कमी कमजोरी हटाउन थप प्रक्रिया अघि बढाउने छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन फ्लाइट र ‘स्लिङ’ उडानमा गरेको कडिकडाइले हवाई दुर्घटना न्यूनीकरण नहुने समेत उहाँको दाबी छ । हेलिकोप्टरको मुख्य काम नै माउन्टेन फ्लाइट र स्लिङ उडान रहेको जनाउँदै उहाँले माउन्टेन फ्लाइट र स्लिङ उडान रोक लगाउन नहुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया