चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य नेपाल भ्रमणमा

  साउन ०७, २०८०

काठमाडौँ, ७ साउन : चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आज यहाँ पुग्नुभएको छ ।

उहाँ नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपाराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र होटल द्वारिकामा उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

उहाँको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुग्नुभएको थियो । उहाँ श्रीलङ्काको भ्रमण सम्पन्न गरी नेपाल आइपुग्नु भएको हो । (रासस)

तपाईको प्रतिक्रिया