काठमाडौं, १ साउन : सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार पनि जारी रह्यो । बैठकमा सचिवालयका सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको सो दलका नेताहरूले जनाएका छन् ।
नेकपा एसका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकमा मुख्यगरी, सङ्गठन सुदृढीकरण विशेष अभियान, वर्तमान परिस्थिति र कार्यभारलगायतका विषय अन्तर्गत सबै नेताहरूले आ–आफ्नो विचार राख्नेक्रम अन्तर्गत आज नेताहरू झलनाथ खनाल, घनश्याम भुसाल, गङ्गालाल तुलाधर र विजय पौडेलले धारणा राख्नुभयो । बैठकमा, आगामी कामको विस्तृत योजना, उद्देश्य, प्राथमिकता, कार्ययोजना एवम् कार्यविभाजनको सन्दर्भमा छलफल भएको छ ।
एसको असार २९ गतेदेखि ३१ गतेसम्म बस्ने भनिएको सचिवालय बैठक शनिबार स्थगित भएको थियो । बैठक भोलि मंगलबारसम्म चल्ने खतिवडाले जानकारी दिनुभयो ।