जेरुसेलम, ३१ असार : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई शरीरमा पानीको कमी (डिहाइड्रेशन) का कारण अस्पताल भर्ना गरिएको एक दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
त्रिहत्तर वर्षीय प्रधानमन्त्रीलाई तटीय शहर सिजरियास्थित उहाँको निजी निवासबाट तेल अभिव बाहिरको शेबा मेडिकल सेन्टरमा रातभर निगरानीमा राखिएको उहाँको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “करिब २० घण्टा अस्पताल भर्ना भएका बेला उहाँले आफ्नो मुटुको गतिविधि नाप्न ल्याब टेस्ट र इलेक्ट्रोकार्डियोग्रामसहित स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ प्रधानमन्त्री नेतन्याहूको सबै परीक्षण ‘सामान्य’ देखिएको र उहाँ अहिले स्वस्थ अवस्थामा रहनुभएको छ ।”
उहाँलाई शरीरमा पानीको कमी (डिहाइड्रृसन) का कारण अस्पताल भर्ना गरिएको थियो ।
नेतन्याहूको छालामुनि मुटुको गतिविधि मापन गर्ने (रेकर्डर) प्रत्यारोपण गरिएको थियो । उक्त यन्त्रले प्रधानमन्त्रीको नजिकको चिकित्सकीय टोलीलाई मुटुको चालबारे निरन्तर निगरानी दिएको थियो ।
नेतन्याहूले शनिबार राति अस्पतालबाट जारी गरेको भिडियो वक्तव्यमा आफू शुक्रबार गालील समुद्रमा बिदा मनाउन गएको तर गर्मीबाट बच्न उचित सावधानी नअपनाएको बताउनुभएको थियो । उक्त स्थानको शुक्रवारको तापमान ४३ डिग्री सेल्सियससम्म पुगेको थियो ।
इजरायलका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता नेतन्याहुलाई भ्रष्टाचारको अभियोगमा फौजदारी मुद्दा चलाउनुका साथै देशको न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने विवादास्पद योजनाको विरोधमा देशव्यापी विरोध प्रदर्शनलगायत विभिन्न मोर्चामा दबाब परेको छ ।






