वर्तमान सरकारले जनताको पीडा बुझ्न सकेन : देउवा (पूर्णपाठ)

  जेठ ०४, २०७७

काठमाडौं, जेठ ४ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । उनले संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकार नीति तथा कार्यक्रममार्फत कोरोनाले पारेको क्षति र दुःखको सम्बोधन गर्न असफल भएको बताए ।

सरकारको नीति तथा कार्यक्रमलाई कोरा कल्पनाको संज्ञा दिएका देउवाले नीति तथा कार्यक्रमले तीन सन्देश दिएको बताए । देउवाका अनुसार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका तीन सन्देशहरू यस्ता छन्, ‘पहिलो सन्देश- सरकारलाई कोभिड १९ ले गरेको र गर्ने क्षतिबारे ज्ञान छैन, दोस्रो- सरकारलाई जनताको दुःखप्रति कुनै समवेदना छैन । जनताको पीडा बुझ्नसक्ने सरकारसँग हृदय छैन र तेस्रो- सरकारसँग अप्ठ्यारो बेलामा भविष्यका लागि जनता आश्वस्त बनाउने कुनै योजना छैन ।’

जनताले अहिलेको जटिल परिस्थितिमा सरकारबाट यस्तो नीति तथा कार्यक्रमको आशा नगरेको देउवाको भनाइ थियो । सरकारले ल्याउने नीतिले किसान, वैदेशिक रोजगारी गुमाएका, क्वारेन्टाइनमा अलपत्र, साँझ बिहान छाक टार्न मुस्किल परेका, मजदुर, विद्यार्थीको समस्या सम्बोधन गर्ने अपेक्षा राखेकोमा त्यसो हुन नसकेको उनले बताए । कोरोनाले प्रभावित भएका उद्योगीले सरकारबाट विशेष प्याकेज खोजेकोमा सम्बोधन हुन नसकेको देउवाले बताए । स्वास्थ्य क्षेत्रमा सामग्रीको अभाव अन्त्य गर्ने समुचित व्यवस्था गर्ने आश राखेकोमा त्यसो गर्न नसकेको देउको भनाइ थियो ।

सीमा बाहिर बिचल्लीमा रहेका र देशभित्र घरबाहिरको क्षेत्रमा बिचल्लीमा रहेका नागरिकलाई ससम्मान घर पुर्‍याउन नसकेको देउवाको भनाइ थियो । कोरोनाविरुद्ध लड्न सरकारले कुनै पनि तयारी नगरेको उनले बताए । नीति तथा कार्यक्रममा तिनका बारेमा ठोस योजनाको अभाव रहेको उनको धारणा छ ।

एकवर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर कोरा कल्पना देखिन्छ । एकवर्षे नीति तथा कार्उयक्रममा १० वर्षे योजना जस्तो देखिन्छ। जनतामा आश विश्वास जगाउन पूर्ण असफल देखिन्छ । पहिलो संक्रमित भेटिएको ४ महिना बितिसक्दा पनि सुरक्षित र विश्सनीय परीक्षण किटको व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीलाई पीपीई लगायतका सामग्री उपलब्ध गराउन नसकेको देउवाको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रममा आत्मप्रशंसा गरेको भन्दै देउवाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत २ वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गर्दछु । सरकारका दुई वर्षका नीति तथा कार्यक्रम हेरेर लज्जित बन्नुपर्ने स्थिति छ ।’

वर्तमान सरकारले गत वर्षहरूमा ल्याएका नीति तथा कार्यक्रमका योजना पूरा नहुँदै तुहिएको देउवाको भनाइ छ । पुँजीगत खर्च न्यून भएका घटनाले सरकारले दाबी गरेको विकासको गति तीव्र भएको भन्ने कुरालाई गिज्याइरहेको उनले आरोप लगाए ।

गुरुयोजना नबनाइ कार्यक्रम ल्याएको भन्दै देउवाले भने, ‘पुराना योजना पनि दोहोर्‍याउने र कोरोना महामारीविरुद्ध लड्न बजेट छुट्याउने हो भने कसरी स्रोत व्यवस्थापन गर्ने हो ?’

सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटना सार्वजनिक भएको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने जग हँसाउनु भएको देउवाको भनाइ थियो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको प्रधानमन्त्रीले नै ढाकछोप गरेको उनले आरोप लगाए ।

सरकारको नीति तथा कार्यक्रम समस्या समाधानउन्मुख नरहेको देउवाको टिप्पणी छ । देशमा धराशयी भएका उद्योग उकास्ने र विदेशमा रोजगारी गुमाएका नेपालीको समस्या समाधान गर्न नीति तथा कार्यक्रम असफल भएको, संघीयता कार्यान्वयनमा सरकार चुकेको पनि उनको भनाइ छ । त्यसरी धराशयी भएका उद्योगमा रोजगारी गुमाउनेलाई कसरी अर्को रोजगारी दिने भन्ने र उद्योगीहरूलाई कसरी राहत दिने भन्ने विषयमा नीति तथा कार्यक्रम नबोलेको देउवाको भनाइ छ ।

‘नीति तथा कार्यक्रममा सबैभन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा केही पुराना योजनाको पुनरावृत्ति बाहेक नवीनतम योजना छैनन्,’ देउवाले भने ।

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा राख्नु सकरात्मक भएपनि अपुरो भएको देउवाको भनाइ छ । त्यसमा चीनसँग वार्ता गर्ने योजना नरहेको देउवाको भनाइ थियो । ‘चीनसँग पनि उच्चस्तरमा परीणाममुखी वार्ता गर्नुपर्छ,’ देउवाले भने ।

एमसीसी जारी अधिवेशनमा पेश गर्न र पारित गर्न देउवाले माग गरेका छन् । वर्तमान नीति तथा कार्यक्रमले मुलुकलाई अग्रगामी दिशामा लैजानेमा देउवाले आशंका व्‍यक्त गरेका छन् । बजेट व्यवस्थापनमा ध्यान दिन उनले सुझाव दिएको कान्तिपुरले जनाएको छ ।

कोभिड-१९ ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै छैन’
प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्नसक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरे । सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

कोरोनाका कारण मृत्युभएकी महिला, उनको परिवार, कोरोना परिक्षणको प्रतिक्षामा बसेका तथा प्रकोप बढ्दै गए स्थिति के होला भनेर त्रासमा बसेका नागरिकलाई सरकारले आफू अभिभावक भएको अनुभूति गराउनुपर्ने उनको जोड छ ।

‘हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरि समस्याको उचित समाधान गर्नेछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ । उनले भने, पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन ।’ नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना तथा लकडाउन भएको ५५ दिन पुरा पीसीआर विधिवाट २६ हजार ६ सय ९१ जनाको मात्र परिक्षण भएको पाइएको उनले बताए ।

अहिलेसम्म स्वास्थकर्मीको सुरक्षा उपकरण लगायतका आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नभएको, विश्वसनिय परिक्षण किटको अभाव रहेको तथा अस्पतालमा भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आपुर्ति नभएको भन्दै उनले प्रश्न गरे, ‘सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ?’ परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको देउवाको आरोप छ ।

उनले स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, पीसीआर परिक्षणको दायरा व्यापक रुपले समुदाय स्तरमा पुर्‍याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको ब्यवस्थित प्याकेज ल्याउन र बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा ब्यवस्थित रुपले राखेर परीक्षण पश्चात घर पुर्‍याउने बन्दोबस्त मिलाउन सरकारसँग माग गरेको अनलाइन खबरमा उल्लेख छ ।

देउवाद्वारा २०७७ जेठ ४ गते संसदमा प्रस्तुत सम्बोधनको पूर्ण अंश :

सम्माननीय सभामुख महोदय,

हामी सबै जान्दछौं यो असाधारण समय हो । यस्तो बेला नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न सम्मानित सदनमा उभिँदा म नेपाल र नेपालीको आजको स्थिति र केहि परिदृश्यलाई स्मरण गरिरहेको छु ।

एकातर्फ म कोरोना संक्रमणको जोखिमसँग जुधेर देशभरि अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाइकर्मीलाई स्मरण गरिरहेको छु भने अर्कोतर्फ कोरोनाबाट संक्रमित दिदीबहिनी, दाजुभाइ, तिनका परिवार, महामारीका कारण दुःखमा परेका किसान, स्वदेश तथा विदेशमा रोजगारी गुमाइरहेका श्रमिक, विदेशबाट घर फर्कन चाहेका तर नपाएका अप्ठ्यारोमा परेका नागरिक, बसेको ठाउँमा राहत नपाएर सयौं किलोमिटर हिँडेर घर जान बाध्य हजारौं मजदुर, विद्यार्थी र बेरोजगार, उपचार पाउन कठिनाइमा परेका अन्य रोगका बिरामी, उद्योग व्यापार बन्द भएका साना ठूला उद्यमी व्यापारी, बिहान साँझको छाक टार्न नसक्ने अवस्थामा पुगेका मजदुर, समस्यामा परेका गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरूलाई सम्झिरहेको छु ।

म परीक्षण सामग्रीको अभावमा कोरोना परीक्षणको प्रतीक्षामा बसेका नागरिकहरू र भाइरसको महामारीले आफू र परिवारलाई कसरी जोगाउने, प्रकोप बढ्दै गए स्थिति के होला ? यसले मुलुकलाई के गर्ला भनेर सन्ताप र त्रासमा बसेका नेपाली दिदीबहिनी, दाजुभाइको मनोदशा स्मरण गरिरहेको छु । अनि हिजो मात्रै समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिला, उनको काखको शिशु र उनको परिवारको मनोदशा सम्झिरहेको छु l

सरकारले यी सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनु पर्ने समय हो । हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरी समस्याको उचित समाधान गर्नेछ । तर, सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ ।

पहिलो सन्देश यो सरकारलाई कोभिड-१९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन । तेश्रो, सरकारसँग यो अप्ठ्यारो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ ।

यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको छ । नेपालमा पहिलो संक्रमित व्यक्ति ०७६ माघ १० मा भेटिएको चार महिना पुग्न लाग्यो। लकडाउन भएको पनि आज ५५ दिन पूरा भयो । हिजोसम्म पीसीआर विधिवाट केवल २६ हजार छ सय ९१ जनाको मात्र परीक्षण भएको स्वयं सरकारी तथ्यांकले देखाउँछ । यतिका दिनपछि पनि स्वास्थकर्मीको सुरक्षा उपकरणलगायतका आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, विश्वसनीय परीक्षण किटको अभाव हुनु, अस्पतालमा भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको आपूर्ति नहुनु, कोरोना प्रभाववाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, सिमाना बाहिर बिचल्लीमा रहेका र देशभित्र नै पनि घरबाहिर असहाय अवस्थामा रहेका नागरिकलाई सुरक्षित र इज्जतपूर्वक घरमा पुर्‍याउने कुनै योजना नहुनुले जनताले सरकार भएको अनुभूति गरेका छैनन् ।

म प्रश्न गर्न चाहन्छु सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ? परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको दृष्टान्त हो तयारी विहीनता । विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन । भारतीय सीमा नाकामा हजारौं नागरिक बिचल्लीमा परेका छन्। तीनले सरकारबाट सुरक्षित रुपमा घर फर्किने वातावरण र सहजीकरणको अपेक्षा गरेका छन् । तीनका बारेमा नीति कार्यक्रममा ठोस योजनाको अभाव छ ।

स्वास्थ सामग्री तत्काल पर्याप्त प्रवन्ध गर्न, पीसीआर परीक्षणको दायरा व्यापकरुपले समुदाय स्तरमा पुर्‍याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको व्यवस्थित प्याकेज ल्याउन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा व्यवस्थित रुपले राखेर परीक्षणपश्चात  घर पुर्‍याउने बन्दोबस्त मिलाउन सरकार समक्ष माग गर्दछु ।

नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा रमाएको छ । विगत दुई वर्षमा निकै काम गरेको दाबी गरिएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एक पटक पढ्न अनुरोध गर्छु । जसले नयाँ नीति कार्यक्रमका असत्य दाबीलाई उजागर गर्नेछ ।

सरकार दुई वर्ष पहिलेको नीति कार्यक्रम हेरेर आफैँ लज्जित बन्नुपर्ने स्थिति छ । त्यो बेला एकवर्ष भित्र बनाउँछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन । तीनवटा मुख्य राजमार्गको छेउमा बनाउँछु भनेको ७६५ केभी ट्रान्समिसनलाइन, निजगढ एयरपोर्ट निर्माण प्रतीक्षामा छन् । पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सातवटै प्रदेशका प्रमुख सहरमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने जस्ता केही सपना पूरा नभई विनाकुनै स्पष्टीकरण तुहिएका छन । यी त केही उदाहरण मात्र हुन्।

दुई वर्ष पहिलेको नीति कार्यक्रममा उल्लेख गरिएका नै कतिपय योजना र कार्यक्रम अहिलेपनि पुनरावृत्ति गरिएका छन । यसले नीति कार्यक्रमको कार्यान्वयन कति फितलो छ भन्ने देखाएको छ । विकासको गति गजबले अगाडि बढेको दाबी गर्ने सरकारलाई न्यून पुँजीगत खर्चको अवस्थाले जिस्काइरहेको छ । राजनीतिक प्रचार र सुविधाका लागि जेपनि गर्छु भन्ने सस्तो प्रवृत्ति मौलाएको छ । यसले नीति तथा कार्यक्रमको विश्वसनीयता र उच्च गरिमा हराएको छ ।

सरकार वर्तमान समस्यालाई ठिकसँग हेर्न सकिरहेको छैन वा अप्ठ्याराहरूको गाम्भीर्यता बुझिरहेको छैन । विगत दुई वर्षका कार्यक्रम अहिलेपनि दोहोरिएका छन् । पहिले पनि गुरुयोजना बनाएर कार्यक्रम ल्याइएको थिएन । अहिले फेरि त्यसरी नै दोहोरिएका छन् । यसले खर्चको लक्ष्य धेरै राख्ने संकेत मिलेको छ । राजस्वको यो वर्षको लक्ष्य समेत नभेटिएको परिप्रेक्षमा पुराना योजना पनि दोहोर्‍याउने र महामारीसँग लड्न नयाँ खर्चपनि छुट्याउने हो भने यो सबैका लागि स्रोत कहाँबाट आउँछ ? यसले निजी क्षेत्रलाई दोहन गर्ने, उनीहरुलाई बैङ्कबाट उपलब्ध हुने पुँजी सरकारले आन्तरिक ऋण उठाउने र जथाभाबी वैदेशिक ऋण लिने गलत नीति तर्फ जान्छ ।

नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचारविरुद्ध कारबाहीलाई तीव्रता दिएको भनिएको छ। बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई वर्ष पुग्दैछ यो आपराधिक घटनाका प्रतिसरकारको उदासिनता र गैरजिम्मेवार व्यवहारले सुशासन, शान्ति सुरक्षाको विषयमा सरकारी दाबीलाई चुनौती दिएको छ । यो त एक प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता अपराधका अनेक घटनालाई नियन्त्रण गर्न सरकार असफल भएको छ । भ्रष्टाचारको एकपछि अर्को काण्ड भएका छन । पछिल्लो समयमा सार्वजनिक भएको यति काण्ड हुँदै सेक्युरीटी प्रेस खरिदसम्बन्धी काण्डमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरागर्नु जग हसाउने विषय होइन र ?

कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधी समेतमा भ्रष्टाचार भएको भनि प्रश्न उठ्नु, त्यसमा छानविन हुनुको साटो प्रधानमन्त्री आफै भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पुष्टि हुन्छ । उल्टै समाचार सम्प्रेषण गर्ने संचार माध्यम र सामाजिक संजाललाई अस्थिरता फैलाएको आरोप प्रधानमन्त्रीले लगाउनु भयो, उहाँको तहबाट यो अभिव्यक्ति आउनु एकातर्फ दु:खद थियो अर्कातर्फ प्रेसको स्वतन्त्र भुमिकालाई कुण्ठित गर्ने नियत थियो ।

कोरोनाले मुलुकका सबै क्षेत्रलाई अत्यन्त नकारात्मक रुपले प्रभावित गरेको छ । यसका अल्पकालिन र दिर्घकालिन प्रभाव रहने छन् । सरकारका नीति तथा कार्यक्रम समस्या समाधान तर्फ उन्मुख छैनन् । देश भित्र उद्योग धन्दा, निर्माण क्षेत्रमा पर्ने प्रभाव र विदेशवाट रोजगारीवाट देश फर्किनेको ठूलो संख्याले बेराजगारीको समस्या भयावह रुपले बढ्ने देखिन्छ । यसलाई सम्बोधन गर्न सरकारसंग ईच्छा शक्ति, क्षमता, ईमान्दारी र दूरदृष्टिको नितान्त अभाव छ ।

सरकारको दावा विपरित संघीयताको कार्यन्वयनमा सरकारको उदासिनताको देश साक्षी छ । प्रदेश सरकारहरु संविधान प्रदत्त अधिकारको उपयोग गर्न वंन्चित भएका छन । संघ, प्रदेश र स्थानिय तह बिच समन्वय गर्ने संयन्त्रहरु अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् जस्ता निष्क्रिय जस्ता छन् । प्रदेशका राजनीतिक नेतृत्वले संघीय सरकारसंग ब्यवस्थित समन्वय नभएको गुनासो गरी रहन्छन् ।

हस्तकला, कृषिमा आधारित साना उद्योगहरु नकारात्मक रुपमा प्रभावित भएका छन । आत्म निर्भरता र धेरै ठूलो रोजगारीको माध्यम बनेका कुखुरा पालन, मत्स्य पालन, मह, केरा, तरकारी, फलफुल उत्पादन तथा प्रशोधन गर्ने उद्योगमा परेको असर र तीनलाई दिन पर्ने राहतको उल्लेख छैन । ती उद्योगमा आधारित व्यक्तिले रोजगारी गुमाउने, आर्थिक मन्दीका कारण उद्योग धरासायी भई देश भित्र आर्थिक असमानता थप बढ्ने स्थिति छ ।

सरकार अहिलेपनि उद्योग, रेमिटेन्स आदि क्षेत्रमा कोरोनावाट भएको प्रारम्भीक क्षति अनुमान गर्न सकेको छैन । यसले राहत पाउनु पर्ने उद्योगलाई प्रोत्साहित गर्ने विषय नीति कार्यक्रममा समेटिएको छैन । सरकारसंग निर्यात बढाउने विश्वसनिय र नयाँ योजना छैनन् । सरकारले संचालन गरेका रोजगार योजनाहरुको गुणस्तर र स्रोत परिचालनको तरिकामा गम्भीर प्रशन उठेका छन् । विगतमा संचालन गरिएको प्रधानमंत्री रोजगार योजनाले देशको सम्पत्तीको दूरुपयोग भएको भनि आम जनता र संचार माध्यममा व्यापक विरोध भएको थियो । दिगो पुर्वाधार निर्माणकालागि लिनु पर्ने वैदेशिक ऋणलाई कार्यकर्ता पोस्ने काममा खर्च गर्ने कुरा स्विकार्य हुन सक्दैन ।

अहिले कोरोनावाट व्यापक रुपमा प्रभावित भएको पर्यटन क्षेत्र पनि हो । प्रर्यटन प्रवर्द्धन सम्बन्धि कुनै नीति आएको छैन । केहि एयरपोर्टको निर्माण र मर्मत मात्र दिगो र गुणस्तरिय पर्यटनको स्रोत होईन । सबै भन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा पुराना सामान्य किसिमका विषयको पुनराबृति बाहेक कुनै नविन सोच र योजना छैन ।

राष्टिय गौरवमा परेका योजनाको अवधी र लागत दुवै बढेको छ । सरकारले उच्च प्रविधि प्रयोग गरेर सडक बनाउन सकेको छैन । सहि योजनाको छनौट, विकास कार्यको गुणस्तर र निर्माणको क्षमता बृद्धिमा ध्यान गएको छैन । उर्जा क्षेत्रको कार्यक्रमले नीजि क्षेत्रलाई वेवास्ता गरेको छ । कयौं योजना महामारीले पिडित छन् । तीनलाई राहतको वा अन्य कुनै व्यवस्था गरिएको छैन ।

यस्तो अप्ठ्यारो बेलामा पनि सरकार मितव्ययीताको पक्षमा देखिएन । यो सरकार आफैले गठन गरेको आयोगको मितव्ययीताको सिफारिस समेत लागु गर्न तयार छैन । वैदेशिक ऋण निरन्तर बढेको छ । सरकार मितव्ययी हुन र वैदेशिक ऋणको नीति पारदर्शी हुन आवश्यक छ ।

नेपाली भूमि अतिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र कालापानी बारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक छ तर यो अपूर्ण पनि छ । मित्र रास्ट्र भारत र चीन दुवै मुलुकले सन २०१५ मा गरेको सहमति अनुरुप नेपाली भूमिमा भारतवाट सडक निर्माण गर्ने काम गरिएको छ । दुई छिमेकि मुलुक बिच भएको सहमतिको नेपाली काँग्रेसले तत्कालनै विरोध जनाएको र सुशील कोइराला प्रधानमन्त्री रहनुभएको नेपाली कांग्रेसको नेतृत्वको सरकारले तत्काल प्रोटेस्ट नोट पठाएको म स्मरण गरिरहेको छु । नेपाली भूभागमा भएको अतिक्रमण र सडक निमार्ण बारे छिमेकी मुलुक मित्र राष्ट चीनसंग समेत उच्च स्तरमा सार्थक र परिणामीमुखी वार्ता गरि समस्याको समाधान गर्नु पर्दछ ।

अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको छ l नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन l यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु l पुर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु l

अन्तमा यो वर्षको नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको वाटोमा लैजाने सिर्जनशिलता देखाउन सकेको छैन । आवश्यक नीति र कार्यक्रमको अभाव छ । पुराना कार्यक्रम दोहोर्याईएका छन । राजश्वमा आउने कमीले हुने प्रभाव बारे केहि बोलेको छैन । अहिलेको महामारीले पार्ने बहुआयामीक प्रभाव बारे नीति कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दिर्घकालिन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन । म सरकारलाई बजेट बनाउदा यी सबै विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्माण गर्न सुझाव दिन्छु ।

धन्यवाद, जय नेपाल ।

तपाईको प्रतिक्रिया