काठमाडौं, ११ असार : नेपाली काँग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले काँग्रेस र नेकपा (एमाले) बीचको नयाँ समीकरण बन्नेबारेमा बाहिर हल्ला चले पनि पार्टी सभापति शेरबहादुर देउवासँग कुरा हुन बाँकी रहेको बताउनुभएको छ ।
सोमवार संसद भवन बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “नयाँ समीकरण बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्र यथार्थ कुरा बाहिर आउँछ” डा. कोइरालाले भन्नुभयो, “समीकरण फेरिएमा पार्टी सभापति देउवा नै प्रधानमन्त्री बन्नुहुनेछ ।”
पार्टीको आगामी पन्ध्रौ महाधिवेशनबाट आफू सभापतिका लागि तयारी गरिरहेको उहाँको भनाइ छ । सो सम्भावना बलियो रहेको उहाँले दावी गर्नुभयो । सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने प्रष्ट पार्नुभयो ।