थप ९ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या २ सय ६७ पुग्यो

  जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : नेपालमा थप नौ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगन्जमा ४ जना, उदयपुरमा १ जना, दाङमा ३ जना र काठमाडौंमा १ जना गरी ९ जना नयाँ संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ती संक्रमित पुष्टि भएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यस्तै उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया