आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि ….

  जेठ ३१, २०८०

बारमेर राजस्थान, ३१ जेठ : राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् ।

आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए । अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए ।

“मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराको लागि ५१ वटा ल्याएँ,”आफ्नो परिवारको मुख्य पेशा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन् । बाबुको निर्देशनअनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारी साधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए । शेरवानीमा सजिएका उनले रवाफिलो विवाह नरुचाएको एनएनआईलाई सुनाए ।

तपाईको प्रतिक्रिया