अन्नपूर्ण (कास्की), २९ जेठ : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको भीरमौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम आगामी वर्षका लागि पर्यटकीय डाक्दै सकिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको सहयोग र सिदिङ युनाइटेड क्लबको संयोजनमा आइतबार र सोमबार दुई दिन ‘हनी हन्टिङ’ भएको थियो । माछापुच्छ्रे–९ स्थित मर्दी खोलाको किनार कोप्रे भीरमा ‘हनी हन्टिङ’ चलेको हो । पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयको सहयोगमा मह काढिएको कार्यक्रम संयोजक अमृत तामाङले बताउनुभयो ।
अघिल्ला वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडा कार्यालयले अगुवाइ गरेको हो । गाउँपालिकाले अगुवाइ लिएपछिको पहिलो कार्यक्रम भएकाले यो वर्ष पर्यटक नपुगेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताउनुभयो ।
यो पटकको ‘हनी हन्टिङ’ आगामी वर्षका लागि पर्यटक बोलाउने बाटो भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । “यसभन्दा अघि गाउँलेहरूले भीर मौरी काढ्ने गर्थे । यो वर्षदेखि वडाले यसमा सहयोग गरेको हो”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो, “यो पटक पर्यटकलाई थाहा दिने काम भयो । अर्को वर्षदेखि यसलाई अझ बृहत् बनाउने लक्ष्य छ ।”
मह काढ्ने मुख्य जिम्मेवारी स्थानीयवासी ६६ वर्षीय उमानाथ गौतमले गर्नुभएको थियो । गौतमले करिब ३५ वर्षदेखि मह निकाल्ने काम गर्दै आउनुभएको छ । अहिले उहाँलाई ३६ वर्षीय उहाँकै छोरा चिमलाल गौतम लगायत पाँच जनाले साथ दिएका थिए ।
एक वर्षमा दुई पटक भीर मौरीको शिकार गर्न सकिने मह शिकारी (भिरौटे) उमानाथ गौतमले जानकारी दिनुभयो । जेठ/असार र असोज÷कात्तिकमा दुवै मौसममा भीर मौरीको सिकार गरी पयर्टकलाई देखाउन पाए पर्यटन क्षेत्र उकासिने भिरौटे गौतमको भनाइ थियो ।
‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको भिरौटे गौतमले सुनाउनुभयो । “भीरमौरीको शिकार गर्नु अलि बढी खतरा मानिन्छ”, गौतमले भन्नुभयो, “सुरक्षा चुनौतीको विषयमा सरकारले हेर्दिए सिजनको बेला भीरमा चढेर मह काढेर पर्यटकलाई देखाउन तयार छु ।”
उक्त भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छ्रे नमूना पैदल मार्गको सङ्गमस्थल हो । पोखरादेखि करिब २५ किलोमिटर दूरी पार गरी भीरमौरीको मह काढेको हेर्न पाइने भएकाले पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले अभियान सुरु गरेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
उक्त वडाको अग्ला भीरहरूमा प्रशस्त मौरीका घार पाइन्छन् । यहाँका पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह सिकार गर्दा स्थानीयवासीको आम्दानी बढ्नुका साथै मह सिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउने स्थानीयवासी बताउँछन् । (रासस)