कञ्चनपुर, २५ जेठ : व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाएको छ । फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो ।
प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक परिचालन गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन बुढाऐरले बताउनुभयो । उहाँका अनुसार कृषि प्राविधिकअन्तर्गत प्रविणता प्रमाणपत्र तह आइएस्सी एजी अध्ययन गरेका सात जना र स्नातक तह विएस्सी एजी अध्ययन गरेका तीन जनालाई गणकका रूपमा खटाइएको छ ।
गणकले किसान परिवारको अवस्था, सङख्या, जमिनको अवस्था, प्रकृति, सिँचाइको अवस्था, बाली लगाउने तरिका, तरकारी खेतीको तौरतरिका, खेती गर्ने प्रविधि, कृषि आँैजार उपकरणको अवस्था, सिञ्चित क्षेत्र, असिञ्चत क्षेत्र, व्यावसायिक कृषि फार्म, समूह, सहकारीलगायत तथ्याङक सङ्कलन गर्ने छन् ।
कृषि बजारको अवस्था र चुनौतीका बारेमासमेत जानकारी सङकलन गरिने कृषि शाखाका प्रमुख बुढाऐरले बताउनुभयो । प्रोफाइलमा कृषिसम्बन्धी विस्तृत जानकारी सङ्कलन गरी सोही अनुसार कृषकलाई व्यवसायिक बनाउन पहल गरिने उहाँको भनाइ छ ।
“डिजिटल प्रविधिको प्रयोग गरी प्रोफाइल बनाइने भएकाले प्रोफाइलमा प्रत्येक किसानको व्यक्तिगत विवरण९बायोडाटा० समावेश गरिएको हुन्छ”, प्रमुख बुढाऐरले भन्नुभयो, “गणकले सङ्कलन गरेका तथ्याङक र जानकारीको विश्लेषण गरी प्रोफाइल निर्माण गरिने छ ।”
कृषि शाखा प्रमुख बुढाऐरले कृषि र कृषका बारेमा विस्तृत जानकारी प्राप्त भएपछि त्यसकै आधारमा नगरपालिकाले कृषिसम्बन्धी योजना बनाइ लागू गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार माटोको नमूना सङ्कलन गर्ने तरिका सिकाउनका लागि नगरपालिकाका १२ वटै वडामा कर्मचारी खटाइएको छ । किसानलाई वडावडामा भेला गराई माटोको नमुना सङ्कलन गर्न सिकाउने कार्य भइरहेको बुढाऐरले बताउनुभयो । यसपछि वडावडामा घुम्ती माटो परीक्षण शिविरका लागि भ्यान परिचालन गरी माटोको नमूना चेकजाँचको कार्य गरिने उहाँको भनाइ थियो ।
“माटोको नमूना परीक्षण पश्चात नतिजाका आधारमा किसानलाई माटो सुधारका लागि आवश्यक सुझाव दिनेछौँ”, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “माटोको अवस्था यकिन भएपछि त्यसकै आधारमा किसानलाई अन्नबाली, तेहन, दलहन बाली, उखु, तरकारी खेतीका लागि सिफारिस गर्नेछौँ ।”
‘एक वडा एक बाली’को अवधारणलाई लागू गरिने उहाँको भनाइ छ । प्रोफाइल र माटो परीक्षणका आधारमा किसानलाई मल, विषादी, बीउ, सिँचाइका लागि स्यालो ट्युबेल, कृषि औजार र यन्त्र अनुदानमा उपलब्ध गराउने गरी कृषि विज्ञको सल्लाहमा योजना बनाउने प्रशासकिय अधिकृत भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक र आधुनिक तरिकाले कृषि गर्ने किसानलाई प्रोत्साहित गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।”
नगरपालिकाका ९० प्रतिशत बासिन्दा कृषिमा आश्रित रहेको नगरप्रमुख रणबहादुर महराले बताउनुभयो । उहाँका अनुसार यहाँका अधिकांश किसानले परम्परागत तरिकाले कृषि गर्दै आएका छन् । “थोरै मात्रै किसान व्यावसायिक कृषि कार्यमा संलग्न छन् । कृषिमा नगरपालिकालाई जिल्लामै उत्कृष्ट बनाउनका लागि प्रोफाइल निर्माणको कार्य अगाडि बढाइएका छौँ”, नगरप्रमुख महराले भन्नुभयो, “प्रोफाइलकै आधारमा कृषियोजना बनाइ लागू गर्नेछौँ ।”
रासस