बख्खु बुन्ने काममा पाँचपोखरीका महिला

  जेठ १८, २०८०

सिन्धुपाल्चोक, १८ जेठ :  पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् ।

भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता सामग्री बुन्नमा व्यस्त हुन्थे । विसं २०७२ को भूकम्पपछि आर्थिक अभाव र विभिन्न कारणले यो पेसा छाड्ने बढे पनि अहिले घरमै बसेका महिलालाई गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत सीप विकास तालिम दिएर फेरि पुरानै व्यवसायमा फर्काएको छ ।

तालिम पाएपछि महिला पनि हौसिएका स्थानीय लेखकुमारी गुरुङ बताउनुहुन्छ । भूकम्पपछि बेरोजगार रहेकामा अब पालिकाले सहयोग गरेपछि आयआर्जन गर्न सकिने उहाँको विश्वास छ । बजारमा अहिले तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग भने घट्दै गएको छ ।

युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु जस्ता सामग्री विस्तारै लोप हुँदै जाने अवस्थामा छ । महिलाका लागि मागअनुसार यस पेसामा सहयोग गरेकामा खुसी व्यक्त गर्दै अर्का स्थानीय बुद्धिमाया गुरुङ बजारीकरणमा पनि पालिकाले सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

गुरुङ र तामाङ समुदायको परम्परागत पेसाको संरक्षण र उद्यमी महिलालाई जीविकोपार्जनसँग जोड्न स्थानीय तहले पनि आवश्यक सहयोग गर्न थालेको गाउँपालिकाका अध्यक्ष टासी लामा बताउनुहुन्छ । उहाँले पालिकावासीको आयआर्जन बढाउन विभिन्न कार्यक्रम ल्याइएको बताउँदै यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

राडीपाखी व्यवसायलाई प्रर्रवद्धन गर्न उत्पादन भएका सामग्रीको बजार व्यवस्थापनसँगै कपडा बुन्नका लागि सुधारिएको आधुनिक तान र मेसिनको सहयोग भएमा व्यावसायिकरुपमा यो पेसालाई निरन्तरता तथा पुस्तान्तरण गर्न सकिने उद्यमीको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया