मुख्यमन्त्री कार्कीबाट शुभकामना

  जेठ १४, २०८०

विराटनगर, १५ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेको तथ्य उल्लेख गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

विभिन्न आन्दोलनमा घाइते, अपाङ्गता तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचनासँगै प्रदेशहरूको नामकरण गरी तीन तहकै दोस्रो आवधिक निर्वाचन सम्पन्न भइसकेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनै वटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको उल्लेख छ ।

राज्यको पुनःसंरचना र आवधिक निर्वाचनमार्फत विगतमा सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले बताउनुभएको छ ।
रासस

तपाईको प्रतिक्रिया