चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर

  जेठ १४, २०८०

मान्म, १४ जेठ : कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो ।

पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको दक्षिणतर्फको दुई वटा खाल्डा तथा सडक ‘पिसिसी’ प्रविधिबाट मर्मत गरिएको छ ।

“ठूला मालबाहक सवारीसाधन पिसिसी सडकबाटै आउँजाउ गर्न थालेका छन्”, प्रजिअ माझीले भन्नुभयो, “जोखिम ठाउँमा गरिएको पिसिसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।” पुलको आसपासको सडक निकै जोखिम रहेकाले सोलिङ९नयाँ तह लगाएर० र पिसिसी गरिएको उहाँको भनाइ थियो । पुलको छेउमा रहेका ढुङ्गाका कारण सवारीसाधन दुर्घटनाको जोखिम थियो । प्रजिअ माझीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरिएको बताउनुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै निर्माण कम्पनीको ठेक्का नपरेपछि कार्यालयले नै सडक मर्मत गरेको कार्यालय प्रमुख दीपेन्द्र विष्टले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया