काठमाडौँ, वैशाख ३१ : राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।
सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताए । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन् । ‘कुन दिन हाम्रो आँगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरेर काँडेतार र पर्खाल लगाउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु,’ उनले भनिन् ।
सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफूलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आरोप लगाइन् । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उनले माग गरिन् । सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको भन्दै सीमा क्षेत्रमा काँडेतार लगाउन यही आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन् ।
सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रबन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताइन् ।
सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भए पनि भारततर्फ बिनासूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । खाडीमा रहेका नेपालीहरुको उद्धार गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरिन् ।