नेपालगञ्जका सहकारीलाई नियमन गरिँदै

  जेठ ०८, २०८०

राँझा, ८ जेठ : नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ ।

नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, सहकारी ऐन र प्रलचित नियम कानुनबमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रुटि र सुधारका लागि आवश्यक सल्लाह सुझाव दिँदै सहकारीलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न अनुगमन गरिएको छ ।

उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आइतवार नेपालगञ्ज–१८ कारकाँदोस्थित पशुपति बहुउद्देश्यीय सहकारी संस्था र सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुगमन गरेको थियो ।

अहिलेलाई सुझावसहित सच्चिन आग्रह गरिएको तर अर्को पटक अनुगमन गर्दा नसच्चिएको पाइए कार्वाहीको प्रक्रिया अगाडि बढाइने सहकारी शाखा प्रमुख रानाले बताउनुभयो । पशुपति र सहारा दुबै सहकारीले प्राप्त सुझाबका आधारमा त्रुटि सच्चाउँदै आगामी दिनमा सुव्यवस्थित र सृदृढ ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । रासस

तपाईको प्रतिक्रिया