रसुवामा ट्राफिक कारबाहीबाट ४० लाख जरिवाना

  जेठ ०७, २०८०

रसुवा, ७ जेठ : पासाङल्हामु मार्गअन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारी साधन दिनहुँ ट्राफिक कारबाहीमा पर्न थालेका छन् । ऐन नियमको पूर्णपालना गरी सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोधलाई बेवास्ता गर्ने सवारी चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले पटक पटक अनुरोध गर्दा यातायात व्यवस्था कार्यालयको अनुमति नल्याउने, सवारी साधन गुडाउँदा साथमा बिलबुक नराख्ने, सवारी चालक अनुमति पत्र नल्याउने गरेका कारण ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको हो । यसरी कारबाही पर्नेमा मोटरसाइकलदेखि सानाठूला सबै प्रकारका सवारी साधन रहेका छन् ।

गत साउनदेखि वैशाख मसान्तसम्म कूल तीन हजार आठ सय ७० सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनमध्ये ट्रक, टिपर एक हजार नौ सय ३८, यात्रुबाहक बस एक सय ५८, कार, जीप, भ्यान जस्ता हल्का सवारी आठ सय ९४ र मोटरसाइकल आठ सय ८० रहेको ट्राफिक प्रहरीका अभिलेखकर्ता जयराम लामिछानेले बताउनुभयो ।

साना सवारी साधनका चालकले ठूलाठूला कन्टेनरसमेत चलाई अनियमित गरेको भेटिन थालेपछि ट्राफिक परीक्षण कार्यलाई निरन्तररूपमा तीव्रता दिइएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताउनुभयो । सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकउपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधानअनुरूप १० महिनाको अवधिमा असुल गरिएको रू ४० लाख ६५ हजार जरिवाना राज्य कोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
चलु आवको १० महिनाको अवधिमा रसुवाका विभिन्न भागमा सानाठूला गरी १७ सवारी साधन दुर्घटना भएको बताइएको छ । बेत्रावती, मैलुङ स्याफ्रुबेँसीतर्फका नदी किनारको निर्माणाधीन सडकबाट मालवाहक कन्टेनर डिब्बा ओहोरदोहोर भइरहेकाले उक्त क्षेत्रमा पनि ट्राफिक परीक्षण तीव्र पारिएको ट्राफिक प्रहरी हवल्दार हरिचन्द्र दुलालले जानकारी दिनुभयो ।

धार्मिक मार्गको सरसफाइ जिल्ला प्रहरी कार्यालय रसुवाले पवित्रतीर्थ गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत धुञ्चेदेखि मिनी गोसाइँकुण्ड तिवारी बगरसम्मको पैदल मार्गको सरसफाइ सम्पन्न गराएको छ ।

प्रहरी निरीक्षक झलक शर्मा पौडेलको नेतृत्वमा खटिएको प्रहरी अधिकृत तथा जवानले पैदल मार्गको साथै मिनी गोसाइँकुण्डका क्षेत्रमा सरसफाइ गरेको थियो । विशेष सफाइबाट यत्रतत्र छरिएका एक टनभन्दा बढी फोहर सङ्कलन तथा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यात्रु फर्कन थाले

गङ्गा दशहरा पर्व आरम्भ भएको पहिलो दिन शनिबार पवित्रतीर्थ गोसाइँकुण्ड पुगेका तीर्थयात्रु फर्कने क्रम सुरु भएको छ । मौसम सफा भएका कारण स्नान तथा पूजाआजामा सरलता मिलेको भक्तजनले बताएका छन् । पवित्रतीर्थ गोसाइँकुण्डमा काठमाडौँ उपत्यकालगायत काप्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पाल्पा, चितवान, गोर्खाको क्षेत्रबाट भक्तजन आएको स्थानीय होटल व्यवसायीले बताएका छन् । (रासस)

तपाईको प्रतिक्रिया