पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण

  जेठ ०६, २०८०

ढोरपाटन, ६ जेठ : पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । बिना इन्जिनियरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणमा असर पु-याउनका साथै बाढी र पहिराको जोखिम पनि उत्तिकै बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् ।

पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुने पोखरी अहिले सुक्खा भएका छन् । घर–घरमा धारा नहुँदा स्थानीयवासीले पोखरीमै पशुचौपायालाई पानी खुवाउने र सिँचाइका लागि पोखरीकै पानी प्रयोग गर्ने गर्थे । अहिले ती पोखरी सुक्खा हुन थालेका छन् ।

मौलिक परम्परासँग जोडिएका यस्ता सम्पदा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको छ । नगरपालिका–३ दमेकस्थित खालपोखरीको संरक्षण गर्नाका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालेको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरी काम सुरु गरेको हो ।

आव २०७९÷८० मा गण्डकी प्रदेशले विनियोजन गरेको रु १० लाखले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर पर्यटन पार्क, वनभोजस्थल लगायतका संरचना निर्माण गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । शर्माले यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा यसको प्रवर्द्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताउनुभयो । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।
रासस

तपाईको प्रतिक्रिया