कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता

  जेठ ०५, २०८०

कीर्तिपुर, ५ जेठ : कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला याकः मिसालाई प्रसाद दिनुभएको छ । यसबाट विगत १७ सय वर्षदेखि चल्दै आएको सो परम्पराले निरन्तरता पाएको छ ।

मध्यरात कीर्तिपुर नगरपालिकाबाट मछिन्द्रनाथको प्रतिमूर्तिलाई पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यलाई हस्तान्तरण गरिएको थियो । याक मिसाको प्रतिमूर्तिलाई भने कीर्तिपुरमा भविष्यमा स्थापना हुने सङ्ग्रहालयमा राख्ने निर्णय भएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिनअघि जल पानेजु मच्छिन्द्रनाथका पुजारी नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुर–२ पुरातात्विकस्थल प्यांःगथाँ पुगी ‘याक मिसा’ शक्ति स्वरुप मानिएकी अविवाहितालाई प्रसाद ग्रहण गराउने परम्परा छ । यसैगरी रथयात्राकै कुनै एक दिन कीर्तिपुरका महिलाले रथ तान्ने चलनसमेत यहाँ चलेको छ ।

यसैबीच गत मङ्सिरमा स्थानीय सुखी गंछेँ समाजको पहलमा मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसको मच्छिन्द्रनाथका पुजारीको समूह हयग्रवी भैरवनाथ तथा ३२ पानेजु सङ्घले कडा विरोध जनाएको थियो । तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रूपमा पूजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भनाइ उनीहरूको थियो । मूर्ति हटाउने र नहटाउनेबीचको विवाद कीर्तिपुर नगरपालिकाको समन्यवमा समाधान गरिएको हो ।

त्यसपछि ललितपुर महानगरपालिका र पुरातत्व विभागले सुखी गँ छेलाई सो मूर्तिहरू प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकका आधार भन्दै कीर्तिपुर नगरपालिकाले वैशाख ७ गते मूर्ति हटाउन सुखी गँछेलाई आग्रह गरेको थियोे ।

 

तपाईको प्रतिक्रिया