आगरा भारत, ५ जेठ : दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो ।
भारतस्थित प्रेस क्लब अफ, आगरा र उत्तर प्रदेश पत्रकार सङ्घको आयोजना तथा सार्क जर्नालिष्टस फोरमको सहयोगमा आयोजित कार्यक्रममा नेपालका २५, बङ्गलादेशका १२ र भारतका करिब तीन सय पत्रकार सहभागी थिए । भारतका केन्द्रीय कानुन राज्यमन्त्री प्रा एसपी सिंह बघेलले उद्घाटन गर्नुभएको सम्मेलनमा भर्चुअलरूपमा सम्बोधन गर्दै उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको उल्लेख गर्दै सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
राज्यमन्त्री बघेलले प्रतिस्पर्धा र टिआरपीका नाममा कतिपय समाचार आधा अपूर्ण वा तथ्यविहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले गलत असर पर्ने बताउनुभयो । उहाँले प्रजातन्त्रका चार खम्बामध्ये एउटा पनि कमजोर भए लोकतन्त्र खतरामा पर्नेसमेत उहाँले बताउँदै त्यसैले पत्रकारले महाभारतका नारदले झैँ पारदर्शिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो । उत्तर प्रदेश राज्यका उच्च शिक्षामन्त्री योगेन्द्र उपाध्यायले सरकार र पत्रकारले समाजको लागि सोच्दा मात्रै समस्याको समाधान हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले आगरामा भएको भारत–पाक शिखर सम्मेलनको स्मरण गर्दै ती वार्ता सफल भएको भए अहिलेसम्म भारत र पाकिस्तानको नक्सा परिवर्तन भइसकेको हुने जनाउनुभयो । सङ्घका प्रदेश अध्यक्ष शिव मनोहर पाण्डेले ग्रामीण क्षेत्रका पत्रकारलाई कसैले ध्यान नदिएको जनाउँदै मिडियामाथि अङ्कुश लगाउन नहुने बताउनुभयो ।
सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाले दक्षिण एशियामा भारतमा पनि पत्रकारले लोकतन्त्रको रक्षाका लागि सधैँ अग्रपङ्क्तिमा लडेको जनाउँदै अफगानिस्तानका पत्रकारले भोग्नुपरेका समस्याबारे ऐक्यबद्धता जनाउन आग्रह गर्नुभयो । सोही मञ्चका महासचिव बङ्गलादेशका मोहम्मद अब्दुर रहमानले भारतको लोकतन्त्र समृद्ध र प्रेरणादायी भएकाले यसबाट अरू मुलुकले शिक्षा लिनुपर्ने बताउनुभयो ।
रासस






