जलेश्वर, ५ जेठ : पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत बटसावित्री पर्व मनाउँदै छन् ।
जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत बिहेपछि आउने पहिलो पर्व अनिवार्यरुपमा ससुराल श्रीमान्को घर मै मनाउनुपर्छ । बिहीबार नहायखाय ९स्नान गरी सात्विक भोजन गरेपछि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।
आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर बटको रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ ।
पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहँेलो र रातो धागोले बेर्छन् ।
आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।
रासस






