काठमाडौँ, ४ जेठ : निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले आजदेखि राजधानीमा छैटौँ ‘नेपाल चेम्बर एक्स्पो–२०२३’ आयोजना गरिएको छ । निजी क्षेत्रका व्यवसायीको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको सो प्रदर्शनीको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उद्घाटन गर्नुभयो ।
मेलामा व्यापारिक अन्तक्र्रिया, आयातनिर्यातको सूचना आदानप्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइएको चेम्बरले जनाएको छ । प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घराययी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् ।
प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको छ । कूल एक सय ५० ‘स्टल’ रहेको मेलामा नेपाल, भारत तथा बङ्गलादेशका उद्यमी व्यवसायीको सहभागिता छ । प्रदर्शनी यही जेठ ८ गतेसम्म चल्नेछ ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायकोसमेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने चेम्बरको विश्वास छ ।
प्रदर्शनीको उद्घाटन गर्दै श्रममन्त्री भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । व्यावसायिक क्रियाकलाप अभिवृद्धिका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताउनुभयो ।
“सरकारको काम सहजीकरण गर्ने हो, व्यापार तथा व्यवसाय निजी क्षेत्रले गर्ने हो”, मन्त्री भण्डारीले भन्नुभयो, “सरकार निजी क्षेत्रको सहयोगी हो ।” अन्तर्राष्ट्रिय बजार विस्तार, अनुभव आदानप्रदान, प्रविधि हस्तान्तरणमा प्रदर्शनीले सहयोग पुग्ने उहाँको भनाइ छ ।
उद्योग तथा वाणिज्य सचिव मधुकुमार मरासिनीले विभिन्न देश तथा स्वदेशकै विभिन्न क्षेत्रका व्यवसायी–व्यवसायीबीच आर्थिक सम्बन्ध विस्तार तथा अनुभव आदानप्रदान गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो । व्यवसाय विस्तारको वातावरण सरकारले बनाउनेमा विश्वस्त हुन आग्रह गर्दै उहाँले सरकार र निजी क्षेत्रले संयुक्तरुपमा लगानी भित्र्याउने र आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।
रासस






