भ्रष्टाचार नियन्त्रणमा शिक्षकको अहम् भूमिका : मन्त्री गुरुङ

  बैशाख ३०, २०८०

चितवन, ३० वैशाख : कानुन, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो ।

शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ थियो । अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उहाँले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताउनुभयो । शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उहाँको भनाइ थियो । देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।” सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय कांग्रेसका नेताहरूसमेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङको जो–कोही भए पनि नछाड्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयो । केन्द्रमा देखिने समस्याले जिल्लामा समेत प्रभाव पारेको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि पदाधिकारी तहबाटै पहलकदमी हुन जरुरी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया