भारतबाट अवैध रुपमा नेपाल ल्याएर भण्डारण गरेको मल रौतहट प्रहरीको नियन्त्रणमा

  बैशाख २९, २०८०

रौतहट : भारतबाट अवैध रुपमा नेपाल ल्याएर भण्डारण गरेको मल रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा भण्डारण गरिएका करिब १ हजार बोरा युरिया मल रौतहट प्रहरीले बरामद गरेको हो। शुक्रबार जिल्ला प्रहरीको टोलीले छापा मारेर उक्त मल नियन्त्रणमा लिएको हो।

मल नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि केही बेर स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

जिल्लाबाट प्रहरी निरीक्षक दिनेश कुँवरसहितको टोलीले राजपुरस्थित स्कुल चोक नजिकको एउटा घरमा लुकाई राखेको अवस्थामा १ हजार बोराभन्दा बढी युरिया मल बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

भारतबाट नेपाल ल्याएको मल कसको हो र घरधनी को हो भन्ने खुल्न बाँकी रहेको एसपी मगरले बताएका छन्। मलधनीबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

प्रहरीको टोलीले केही मल सदरमुकाम गौर ल्याइसकेको छ। अरु ल्याउने क्रममा बाटोमा आगो बालेर स्थानीयले रोक्ने प्रयास गरेका थिए। त्यसपछि स्थानीयले प्रहरीमाथि ढुंगांमुढा गर्न थालेका थिए।

तपाईको प्रतिक्रिया