अब भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जान्छन् : प्रधानमन्त्री

  बैशाख २३, २०८०

काठमाडौं, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने बताउनुभएको हो ।

प्रधानमन्त्रीले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने औँल्याउनुभयो । उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्नुहुँदै फिल्म देख्न बाँकी रहेको बताउनुभयो । उहाँले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने भनाइ व्यक्त गर्नुभयो ।

‘‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिनेवाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाब आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘म लगायत केही नेता साथीहरू माइतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौँ । धेरै थिएनौँ । त्यतिबेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरुले बडो व्यङ्ग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेर त भन्थे, माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’’

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गिर्जनसके बहुमतमा पुग्ने बताउनुभएकाे गारेखापत्रले जनाएको छ ।

धम्की र घेराबन्दीको सामना गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताउनुभएको छ ।

उहाँले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा कुनै कञ्जुस्याइँ नगरिने बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समयदेखि गलत नीति, संस्कार, बेथिती, कार्यशैली र मुख्यतःभ्रष्टाचारका कारणले नै नेपालको स्थिति अहिले आर्थिक सङ्कटको स्थिति बनेको हो ।”

उहाँले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाईं भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतीपूर्ण छ । सुशासन भन्नेबित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।”

प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताका रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।”

प्रतिगमनविरुद्धको आन्दोलनको स्मरण गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “दुई÷दुई पटक संसद् विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौँको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्र परास्त भए, नेपाली जनता फेरि विजयी भए, हामी फेरि विजयी भयौँ ।”

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भन्नुभयो, “हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्याउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैँ लडेर ल्याएको अधिकार हो ।”

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता महेश्वरजङ्ग गहतराज, गोपीबहादुर अछामी सार्कीलगायतले दलित तथा अल्पसङ्ख्यक समुदायको हितका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राख्नुभएको राससले जनाएकाे छ।

तपाईको प्रतिक्रिया