बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै

  बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।

करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत अघि बढाइएको हो । चालु आर्थिक वर्षमा बागमती करिडोरमा झण्डै आठ किलोमिटर सडकमा कालोपत्र थप्ने काम ९ओभर ले० गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इञ्जिनियर कमल अर्यालले बताउनुभयो ।

ललितपुरतर्फ बल्खु पुलबाट कालोपुलसम्म सडकमा ‘ओभर ले’ भइरहेको छ । मनोहरा दोभानबाट तीनकुनेको पुलसम्म, गोठाटार पुलबाट गोकर्णसम्म र जोरपाटीको पुल हुँदै माकलबारीसम्म पनि मर्मतको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बढी बिग्रिएको सडकमा मर्मत भइरहेको छ ।”

विगतमा अरु निकायले पुल बनाएकामा त्यसको मुनिको सडक ९अण्डर पास० खुलाउने काम पनि भइरहेको समितिले जनाएको छ । तीनकुने पुल र भत्केको पुल दुवैमा अहिले पुलमुनि सडक निर्माण भइरहेको इञ्जिनीयर अर्यालले बताउनुभयो । तीनकुने पुलमा मुनि दुवैतर्फ अण्डरपासको काम भइरहेको छ । त्योभन्दा माथि भत्केको पुलमा पनि देब्रेतर्फ अण्डरपासको काम भइरहेको उहाँले बताउनुभयो ।

समितिले करिडोर निर्माण, मर्मत, ढल बिच्छ्याउने, पार्क निर्माणलगायतका काम सँगसँगै अघि बढाइरहेको छ । तीनकुने पुलबाट तल्लो भागमा पार्कको निर्माण भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया