विराटनगर, २१ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक यातायातको क्षेत्रमा डिजिटलाइजेशन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेशमा राजस्वको धेरै ठूलो क्षेत्र बोकेको यातायातलाई व्यवस्थित गर्न डिजिटलाइजेशन हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले समयसापेक्ष यातायात क्षेत्रलाई सुधार गर्न नसके अपेक्षित लाभ लिन नसकिने भन्दै प्रदेशमा यातायातको रुट निर्धारण र नियमन पनि प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रविधितर्फ नागरिक आकर्षित भइरहेको समयमा हरेक क्रियाकलाप प्रविधिमैत्री हुन आवश्यक छ भन्दै छलफलमा उठेका कुरालाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने स्पष्ट पार्नुभयो ।
मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्वसदस्य एवं यातायात व्यवसायी श्रीप्रसाद मैनालीलगायतले डिजिटलाइजेशनको पक्षमा बोल्नुभएको थियो ।






