काठमाडौँ, २१ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले उद्योगी, व्यवसायीको समस्या समाधान गर्न सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । “लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सजस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।






