कटारी, २१ वैशाख : वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गङ्गा राईले बताउनुभयो ।
किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति पैmलियोस्, दैवीप्रकोप तथा विपत्ति नआउन् भनेर मनाउन थालिएको बूढापाका बताउँछन् ।
त्यसैगरी पानी पर्न थालेपछि नदी, खोला, खहरेमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरात समुदायले माछा उकालो ९उँभो० पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई समेत उभौलीको सङ्केतका रूपमा यो पर्व मनाइने गरेको पाइन्छ । त्यस्तै मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइने किरात राई संस्कृतिका अध्येता शुभराज राई बताउँछन् ।
भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरात आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउने किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताउनुभयो । उभौलीका अवसरमा सामूहिकरूपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा साकेला नाचिन्छ ।






