विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध स् मन्त्री ज्वाला

  बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उहाँले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताउनुभयो ।

उहाँले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गर्नुभयो । “मैले यहाँ चार्जिङ स्टेशनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ”, उहाँले भन्नुभयो, “विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।”

नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताउनुभयो । “पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न मापदण्ड बनाउनु पर्छ”, उहाँले भन्नुभयो, “चार्जिङ स्टेशन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ ।”

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गर्नुभयो । “केही वर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ ।”

आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताउनुभयो । सरकारले तोकेअनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको उहाँको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया