नेपाली उत्पादनलाई प्राथमिकता दिइनेछ : मन्त्री रिजाल

  बैशाख २१, २०८०

पाटन, २१ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा उहाँले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकता दिइने बताउनुभएको हो । उहाँले भन्नुभयो, “तयार हुँदै गरेको आगामी आवको नीति तथा कार्यक्रममा घरेलु हस्तकलाजन्य सामग्री, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई उचित सम्बोधन गरी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिवद्ध छ ।”

मन्त्री रिजालले नेपाली उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरणका माध्यमबाट विदेशमा निर्यात गर्दै आर्थिक उपार्जन गर्न सकेमा थप रोजगारीको सिर्जना हुने बताउनुभयो । उहाँले उद्यमी घरको सञ्चालनबाट उत्पादनकर्ताले लागतको वास्तविक मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्यमी घरमार्फत सबै नेपाली उत्पादनको उपभोग गर्न नागरिकले सहज रुपमा पाउनेमा जोड दिनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नेपाली उत्पादन र बजारीकरणलाई ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले स्वदेशी बजारलाई प्राथमिकता दिन नसक्दा विदेशी उत्पादनमा निर्भर हुनुपरेको छ, यसैको कारण अहिले आर्थिक अवस्था खराब हुँदै छ”, प्रमुख महर्जनले भन्नुभयो, “उद्यमी घरको सञ्चालनले उद्यमीलाई जीविकोपार्जन गर्दै आत्मनिर्भर बनाउने अभियानको सुरुवात भएको छ, यस अभियानलाई नगरपालिकाले महत्वपूर्ण सहयोग गर्नेछ ।”

ललितपुर महानगरपालिका– १४ का अध्यक्ष अमृतजङ्ग महतले उद्यमी घरको सञ्चालनबाट ‘मेड इन नेपाल’ लेखेको उपहार दिन पाइने अवस्था सिर्जना भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले सस्तोको खोजीमा लाग्दा चाइनिज र भारतीय उत्पादनमा निर्भर हुनुपरेको तथा नेपाली उत्पादनले प्राथमिकता पाउन नसकेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया