ठमेलमा अपराध रोक्न एकमहिने अभियान

  बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा पोलेर वातावरण प्रदूषित गर्ने, सडक बालबालिका, मगन्ते, ठेलागाडीमा सामान बेच्ने, नाङ्लो व्यापारको नाममा ठगी गर्ने गुनासो बढेपछि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले ठमेलभित्र भएको ध्वनि प्रदूषणलाई रोक्नसमेत अभियानले भूमिका खेल्ने बताउनुभयो । परिषद्को टोलीले रातको १० देखि १२ बजेसम्म उक्त अभियान सञ्चालन गर्ने अध्यक्ष शर्माको भनाइ छ ।

“सुरुको समयमा पर्यटकलाई दुःख दिने तथा ठमेलभित्र होहल्ला गर्ने व्यक्तिलाई सम्झाइबुझाइ गर्छौं, सम्झाइबुझाइ गर्दासमेत अटेर गरेमा पक्राउ गरेर कारबाही गछौँ”, उहाँले भन्नुभयो । उहाँले रातिको समयमा पर्यटकलाई दुःख दिए ठमेल पर्यटन परिषद्मा सम्पर्क गर्नसमेत आग्रह गर्नुभएको छ ।

कोरोनाले थलिएको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले चौबिसै घण्टा खोल्न दिने निर्णयपछि ठमेलमा रात्रिकालीन व्यवसाय फस्टाएको छ । ठमेलमा होटल, रेस्टुराँ, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायले व्यवसाय फस्टाएको भए पनि ध्वनि प्रदूषणले समस्या सिर्जना गरेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया