दोधारा चाँदनी, १६ वैशाख : सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।
महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल–२०२३’ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताउनुभयो ।
“महोत्सवमा मानवअधिकार प्रवद्र्धनमा चलचित्रको भूमिकालाई कसरी बुझ्ने शीर्षकमा छलफल हुनेछ”, डा जोलीले भन्नुभयो, “यसको उद्देश्य आम मानिसमा उनीहरुको अधिकारबारे चेतना अभिवृद्धि गर्ने रहेको छ ।”
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले चलचित्र महोत्सवले मनोरञ्जनका साथै मानवअधिकारसँग सम्बन्धित सन्देश प्राप्त हुने बताउनुभयो । “महोत्सवमा प्रदर्शन गरिने चलचित्रले मनोरञ्जनका साथै चेतना अभिवृद्धि हुनेछ”, उहाँले भन्नुभयो, “सन्देश प्रवाह गर्ने भएकाले पनि यो महोत्सव महत्वपूर्ण छ, यसको सदुपयोग गर्न जरुरी छ ।”रासस






