काठमाडौँ, १० वैशाख : वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका हुन् । उनीहरु सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले पनि विभागबाट धमाधम आरोहण अनुमति लिइरहेका छन् । केही आरोही बीचबाटोमा छन् ।
विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले हालसम्म सर्वोच्च शिखर सगमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिनुभयो । उहाँले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताउनुभयो । यो सिजनमा सगरमाथा आरोहणका लागि उत्साहवद्र्धकरुपमा धमाधम आरोही आइरहेको उहाँले उल्लेख गर्नुभयो ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर० ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविर भन्दामाथि पर्वतारोहण सञ्चालक सङ्घ ९एक्सपीडिसन अपरेटर्स एशोसिएसन०ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो सिजनमा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।
एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका छन् । केही आरोही बीचबाटौमै छन् । सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका उल्लेख्य सङ्ख्याका पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवद्र्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताउनुभयो
चौथो आधार शिविर नजिक बाटो पुग्यो
वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाउनेक्रममा चौथो आधार शिविर नजिक बाटो खुलिसकेको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार अहिले सगरमाथाको तेस्रो शिविरभन्दा माथि येल्वो मेन्ड थ्भ्ििय दभलम भन्ने स्थानसम्म बाटो बनिसकेको छ ।
शुक्रबारको हुरीसहितको वर्षाले सगरमाथा क्षेत्रमा भारी हिमपात भएकाले चुचुरो पुग्ने बाटो बनाउन कठिन भइरहेको छ । प्रतिकूल मौसमका कारण बाटो बनाउने काममा खटिएका आइसफल डाक्टर तीनदिनदेखि आराम गरिरहेको निर्देशक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथाको मौसम राम्रो छैन त्यसैले बाटो बनाउनेहरु रेस्टमा छन् । अप्रिल २४ सम्म सगरमाथाको चौथो शिविरमाथि चुचुरो नजिक बाटो बनाइसक्ने लक्ष्य थियो, तर मौसमले केही विलम्ब भएको छ, मौसमले साथ दिएको एक÷दुई दिनमै काम पुनःसुरु हुन्छ ।”
सगरमाथा आरोहणको यो सिजनमा ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आठ जना दक्ष शेर्पा सगरमाथाको चुचुरोसम्म बटो बनाउन खटिएका छन् । मौसमले साथ दिए आरोहण उत्साहजनक हुने शेर्पाको भनाइ छ । तथापि यो सिजनमा सगरमाथाको दोस्रो शिविरमाथितिर हालै हिमपहिरोमा परी तीन जना बेपत्ता भएको घटनाले आरोहणका लागि बाटो खुलाउन केही ढिलो भएको उहाँको भनाइ छ ।
मे १० तारिखभित्र सगरमाथा आरोहण सुरु हुने
मौसमले साथ दिएको खण्डमा आगामी मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु भइसक्ने सङ्घको योजना छ । आइसफल डाक्टरले सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । कार्यकारी निर्देशक शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणमा निस्केका आरोही आधार शिविर र दोस्रो शिविरमा पुगेका छन् । उनीहरु आरोहणको व्यवस्थापकीय कार्यमा सक्रिय भएका हुन् ।
एसपिसिसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बाटो बनाउने जिम्मा पाएको छ । त्यसभन्दा माथि सङ्घले हरेक वर्ष फरकफरक कम्पनीलाई बाटो बनाउने जिम्मा दिने गरेको छ ।
विसं २०७५ देखि पर्यटन विभागको पर्वतारोहण शाखासँग समन्वय गरेर सगरमाथाको दोस्रो शिविरसम्म एसपिसीले बाटो बनाउँद आएको छ । चुचुरोसम्म आइसफल डाक्टर शेर्पा गाइडले धमाधम बाटो बनाइ रहेका छन् ।
नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रसियाका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् ।
सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र विदेशी सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । त्यसयता सगरमाथाको आरोहण आकर्षण बढ्दो छ । विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् ।
सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँ वसन्त ऋतुको यो सिजनमा आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कनुभएको छ ।
रासस






