खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान

  बैशाख ०९, २०८०

जनकपुरधाम, ९ वैशाख : जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस ९२४ अप्रिल०को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ पुरुष र ३० महिलाले रक्तदान गरेका मण्डलका प्रमुख बेचु रजकले जानकारी दिनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो महासेठ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पनि रक्तदाताको हौसलाका लागि सहभागिता जनाउनुभएको थियो ।

सो अवरसमा सांसद महतोले रक्तदान मानव कल्याणको सबैभन्दा उत्तम कार्य भएकाले यस्तो कार्यका लागि उत्प्रेरित गर्ने सन्त निरंकारी मण्डल र रक्तदातालाई धन्यवाद दिनुभयो । उपमहानगर प्रमुख साहले पनि रक्तदान जीवन दान भएकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था निर्माणका लागि यस्तो पुण्यकार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

यसअघि कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले मानवतालाई जीवन्त राख्न र रगत अभावमा कसैले पनि ज्यान गुमाउने अवस्था आउन नदिन सामाजिक उत्तरदायित्वको भावनाअनुरुप रक्तदान गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँले कुनै पनि धार्मिक तथा आध्यात्मिक संस्थाले संविधानको अधिनमा रही मानव कल्याण, सामाजिक सद्भाव, आपसी एकतालाई मजबुत बनाउन लाग्नुपर्ने भन्दै सन्त निरंकारी मण्डलले यस्तो कार्यमा पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया