काभ्रेपलाञ्चोक, ८ वैशाख : अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् ।
कार्यालयले गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिइएको थियो ।
यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकोमा भारमापन केन्द्र तौलपुलमा तौल लिँदा समय लाग्ने तथा प्रशासनले कति तौल बोक्नुपर्ने भन्ने यकीन नगरेका कारण दुःख दिएको जनाउँदै व्यवसायीले ढुवानी रोक्ने चेतावनी दिएका हुन् ।
विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र ९तौलपुल० व्यवस्थित गरिएको थियो । त्यसयता मालबाहक सवारीले आनाकानी गर्दै भारमापन नगरेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएको हो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रह गर्दै आएका थिए ।
बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाउनुभएको छ । “हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ तौल लिने नाममा दुःख दिनुभएन, होइन भने हामी सम्पूर्ण ढुवानी रोक्नेछौँ, केही व्यवसायीले आजदेखि नबोक्ने भनिसक्नुभयो”, उहाँले भन्नुभयो ।
टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको छ । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालबाहक सवारी साधन चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालबाहक सवारीलाई अनिवार्यरुपमा नियमसङ्गत ढङ्गले भारमापन गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “मालबाहक सवारीलाई अनिवार्यरुपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिनेछ भने व्यवसायीको समेत विश्वास बढ्नेछ ।” उहाँका अनुसार मालबाहक सवारी साधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।
भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ ९संशोधनसहित०को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा ०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुन सकेको थिएन ।
रासस






