वालिङ, ७ वैशाख : स्याङ्जाका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थलमा ३१ वटा पूर्वाधार निर्माण गर्न लागिएको छ । धार्मिक एवं पर्यटकीयस्थलसम्म सहजताका साथ पुग्नका लागि पदमार्ग र उद्यान निर्माण गर्न लागिएको हो ।
स्याङ्जा सदरमुकाम पुतलीबजार(१ मा अवस्थित पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामार्फत जिल्लाका विभिन्न ठाउँमा पूर्वाधार निर्माण गरेको हो ।
स्याङ्जाका ११ वटा स्थानीय तहसँगको समन्वयमा धार्मिक एवं पर्यटकीयस्थलको संरक्षण र सम्बद्र्धन गर्ने र त्यहाँसम्म सहज पहुँच पु¥याउन पूर्वाधार निर्माण गरिएको हो ।
“जिल्लाका विभिन्न भेगमा रहेका मठमन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक आस्थाका केन्द्र र पर्यटकीय सम्भावना भएका स्थान संरक्षण, सम्बद्र्धन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गछौँ”, कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो, “चालु आर्थिक वर्ष २०७९र८० मा यस कार्यालयमार्फत ३१ स्थानमा पूर्वाधार निर्माण गरिरहेका छौँ ।”
धार्मिक मार्ग, उद्यान र पदमार्ग निर्माण गर्न चालु आर्थिक वर्षमा कूल रु दुई करोड ५० लाख विनियोजन भएको छ । “जिल्लास्थित स्थानीय तहमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको विवरण उपलब्ध गराउन पालिकालाई पत्राचार गरेका छौँ”, उहाँले भन्नुभयो, “ऐतिहासिक, धार्मिक, एवं पर्यटकीय दृष्टिले महत्व बोकेका स्थानहरुको विवरण प्राप्त भएपछि पालिकाहरुसँग समन्वय गर्दै के कस्तो पूर्वाधारहरु निर्माण गर्ने भन्ने कार्य योजना बनाउँछौं ।”
जिल्लाका विभिन्न भागमा सञ्चालनमा रहेका योजनामध्ये ६ वटा सम्पन्न भइसकेका छन् । अरु योजनाहरु सम्झौता भएर काम अगाडि बढेका र केही अन्तिम चरणमा पुगेका छन् ।
पर्यटकीय गाउँहरुमा आउने पाहुनाहरुलाई स्थानीय परिकारका स्वादहरु उपलब्ध गराउने उद्देश्यसहित पर्यटकीय गाउँहरुमा अचार बनाउने एकहप्ते तालिम दिइएको उहाँले बताउनुभयो । रासस