पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन टोली भारतको पटनामा

  बैशाख ०४, २०८०

पटना भारत, ४ वैशाख : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पोखराबाट हिँडेको पर्यटन व्यवसायीको टोली आज पटना आइपुगेको छ ।

कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालको लागि महत्त्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणसी, अयोध्या र गोरखपुरलगायत सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ २३ सदस्यीय टोली पटना आइपुगेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।

‘पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान तथा बि २ बी भेट २०२३’ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीसहित २३ जनाको सहभागिता छ । टोलीले पटना, वाराणसी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारसँग पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसका बारेमा जानकारी दिने प्रवर्द्धनात्मक सामग्री वितरण गर्नेछ । भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गर्ने योजना रहेको अधिकारीले बताउनुभयो ।

पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने बताउँदै नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले पोखरा धार्मिक साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि पनि महत्त्वपूर्ण सहर हो भन्ने सन्देश प्रवाह गरिने बताउनुभयो ।

“कार्यक्रमकै क्रममा पोखरा नेपालको पर्यटकीय राजधानी भन्ने सन्देश दिनेछौँ”, उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीलाई प्रोत्साहित गर्नेछौँ ।”

विश्वमै धार्मिक महत्त्व बोकेको शालिग्राम पाइने क्षेत्रका रूपमा गण्डकी प्रदेशको प्रवर्द्धन गरिने कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले बताउनुभयो ।

भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रमा हुने बाधा व्यवधानका बारेमा जानकारी लिइने र सडक मार्गबाट सहजरूपमा यहाँको भ्रमण गर्न सकिने सन्देश प्रवाह गर्ने उहाँले बताउनुभयो । पोखरादेखि नेपालका भारतीय सीमावर्ती सहरमा हवाई सेवा सुरुआत भएको जानकारीसँगै छोटो दूरीमा नै विश्वकै आठ हजार मिटरभन्दा बढी उचाइका हिम शृङ्खलाको अवलोकन गर्न सकिने जानकारी गराउने कार्यक्रमको लक्ष्य छ ।

कार्यक्रमले पोखरा, गण्डकी प्रदेशलगायत नेपालकै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । भारतका प्रमुख सहरमा गर्न लागिएको यो कार्यक्रम फलदायी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भारतका विशेषतः सीमावर्ती क्षेत्रबाट बर्सेनि ठूलो सङ्ख्यामा भारतीय पर्यटक पोखरा आउने गर्दछन् । गण्डकी प्रदेशमा रहेका पोखराको विन्ध्यवासिनी, तालबाराही, गुप्तेश्वर महादेव मन्दिरका साथै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङको बाग्लुङ कालिका, म्याग्दीको गलेश्वरधाम भारतीय पर्यटकको रोजाइमा पर्ने गर्दछ । पछिल्ला समयमा पोखरा आसपासका मर्दी हिमाल पदयात्रादेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रामा पनि भारतीय पर्यटकको आकर्षण बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै मुक्तिनाथ जाने भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढेको थियो । बीचको समयमा कोरोनाले पर्यटन प्रभावित भए पनि आगामी दिनमा भारतीय पर्यटकको आगमन पुनः बढ्ने विश्वास लिइएको छ ।

भारतमा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधाम कालीगण्डकीबाट हालै ल्याइएका दुई देवशिलाले पनि गण्डकी क्षेत्रप्रति भारतीयको श्रद्धा भक्ति बढाएको छ । देवशिला ल्याउने क्रममा स्थानीयवासीले बाटो–बाटोमा श्रद्धाभक्तिपूर्व पूजाआजा गरेका थिए । देवशिलाको दर्शनका लागि भारतका विभिन्न स्थानबाट सर्वसाधारण अयोध्यामा पुगेको समाचार सम्प्रेषण भएका थिए । अध्योध्यासहितका सहरमा गर्न लागिएको यस प्रवर्द्धनात्मक भ्रमणले पोखरासहित गण्डकी प्रदेशका भारतीय पर्यटकको आगमन बढ्ने विश्वास लिइएको छ । रासस

तपाईको प्रतिक्रिया